अर्घाखाँची : अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर १०,  ११, १२, १३ र १४ का विभिन्न ठाउँमा रहेका सामुदायिक वनहरुको आम्दानीले गाउँहरु झिलिमिलि हुन थालेपछि अहिले स्थानीय युवाहरुले रोजगारी पाउन थालेका छन् ।

शितगंगाको १३ नम्बर वडा भंगाला भन्ने ठाउँमा रहेको  गाउँमा सामुदायिक वनको आम्दानीबाट थुप्रै नमुना   विकास निर्माणका कामहरू भएपछि स्थानीय उपभोक्ताहरु हर्षित मात्र नभइ त्यहाँका युवाहरु गाउँमै रोजगार पाउन थालेका छन् । शितगंगा नगरपालिकाको  विकट बस्ती भनेर चिनिने भङ्गलाका  ३४ घर परिवार रहेको सो गाउँमा धेरै विकास निर्माणका कामहरू सामुदायिक वनको आम्दानीबाट सम्पन्न भएका छन् भने स्थानीय युवाहरु रोजगारीका लागि कुनै ठाउँ जानु पर्दैन । गाउँमै भ्याइ नभ्याइ छ ।

 शितगंगा १३  मा रहेको सो धिरीखोला  भन्ने स्थानमा सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट ‘गाउँमा पुग्ने मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत विस्तार गाउँमा बाख्रा पालन, कुखुरा पालन, बङ्गुर पालन वैदेशिक रोजगारीमा जानेहरुका लागि आर्थिक सहयोग गरेपछि गाउँका सबै उपभोक्ता रोजगारीमा व्यस्त रहेको धिरिखोला सामुदायिक वनका अध्यक्ष रेमकला गुरुङले मध्यान्हलाई जानकारी दिइन् ।

सो समुहले सडक निर्माण गर्ने तथा मर्मत गर्ने कार्यमा यस वर्ष मात्रै  झण्डै २१ लाख रुपैयाँ खर्च गरेको अध्यक्ष गुरुङको भनाइ छ ।

गोरुसिंगे सन्धिखर्क सडकको डोहोटेबाट भंगाला गाउँमा जान सहज भएपछि अहिले त्यो बाटो धेरैले प्रयोग गर्छन् ।  भंगाला गाउँको भित्री सडक पनि निर्माण तथा मर्मत भएको सामुदायिक वनका कोषाध्यक्ष बसन्त भुसालले बताए ।

सामुदायिक वनका अध्यक्ष रेमकलाले भनिन्, ‘यो वर्ष ३५ लाख र विगतका वर्षहरूमा गरी झन्डै ८० लाख रुपैयाँको लगानीमा भंगाला सिँचाइ योजना पूरा भएपछि अहिले त्यहाँका उपभोक्ताले तरकारी खेती गरेर दैनिक कपिलवस्तु लगेर बेचबिखन गर्ने गरेका छन् ।  जसबाट ६० बिघा खेतमा सिँचाइ सुविधा पुगेपछि अहिले खेती गर्न किसान उपभोक्ता कम्मर कसेर लागेका छन् ।’

यस्तै शितगंगा १२ मा पनि डोहोटे सामुदायिक वनको आम्दानीले सिँचाइ, विद्युतका काम, बाख्रा वितरण, हाते ट्याक्टर वितरण गर्नुको साथै बिउपल वितरण  गरेपछि मौसमी तथा बेमौसमी तरकारी उत्पादन बढेको सामुदायिक वनका  ध्यक्ष रेशम बन्जाडेले बताए ।  शितगंगाका अधिकांश ठाउँमा  कपिलवस्तु जिल्लाबाट सामुदायिक वनको आम्दानीले गाउँमा बिजुली बत्ती बाल्न पाएपछि उपभोक्ताहरु झन् खुसी देखिन्छन् । 

विकट वस्तीमा सामुदायिक वनको आम्दानीबाट गाउँ अहिले झिलिमिली भएपछि उपभोक्ता हर्षित भएका हुन् । घरघरमा नेट सुविद्या पुगेको छ ।  गाउँमा रहेका साना बाटाहरु निर्माण भएका छन् । विद्यालय भवन पनि बनेका छन् । गाउँमा विद्यालयका सानातिना काम गर्न विद्यालयमा निजी श्रोतबाट शिक्षक राख्नका लागि अहिले सरकारको मुख हेर्न पर्ने अवस्था नभएको स्थानीय मोहन बन्जाडेले बताए ।

धिरिखोला सामुदायिक बन ले खानेपानी मर्मतमा वार्षिक ३० हजार रुपैयाँ खर्च गर्छ  गाउँमा भगवती मन्दिर मा ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको  स्थानिय नारायण पौडेलले बताए । गाउँमा चाहिने विकासका कामका लागि राज्यका कुनै सरकारको मुख ताक्नु पर्दैन सामुदायिक वनहरू सक्षम भएको खण्डमा गर्न सकिन्छ भन्ने उदाहरण अर्घाखाँची का सामुदायिक बनहरुले देखाएको  सितगङ्गा का समाजसेवी  नारायण सिह बेल्वासेले बताए ।

उपभोक्ताको आयआर्जन बढाउनका लागि तरकारी खेती गर्ने, गाईभैंसी पालन गर्ने, बाख्रापालन गर्ने, बुंगुरपालन गर्ने कृषकलाई वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लगानी पनि सामुदायिक बनले गर्ने गरेको  बन अधिकृत चन्द्र भाटले बताए ।

धिरिखोलामा सामुदायिक वनको आम्दानीबाट  भैंसीपालनका लागि २० लाख बाख्रापालनका लागि १५  कुखुरापालनका लागि ५ र बंगुरपालनमा ३ जनाले वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण पाएका छन् । भैंसीपालनका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा ७० हजार रुपैयाँ ऋण लिएको उपभोक्ता बसन्तप्रसाद भुसालले बताए ।

उनले भने, ‘भैंसीपालन गरेर दूध बिक्री गरेर आम्दानी गरिरहेको छु ।’ कृषि तथा पशुपालन गर्ने उपभोक्ताहरूको हितका लागि उनीहरूको मागका आधारमा हातेट्याक्टर वितरण, घाँस काट्नको लागि चाप कटहर वितरण गरेको छ । बिउको लागि बोका पनि वितरण गरेको छ । 

रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकाहरू सात जना गाउँमा फर्किएर स्वरोजगारका काम गरिरहेका छन् । विदेशबाट फर्किएका दुई जनालाई अटो रिक्सा खरिदका लागि निव्र्याजी ऋण पनि प्रदान गरिएको छ । साउदी अरबबाट फर्किएका किशोर गुरुङ र भारतको दिल्लीमा रोजगारी गरेर फर्किएका दिलीप घमलाई व्याज मिनाहा गरी ३ लाख रुपैयाँका दरले कर्जा लिने गरेका छन् । त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर ११ को गैडे सामुदायिक वनका उपभोक्ताहरुको पनि दैनिकी फेरिएको सामुदायिक वनका सचिव सीता बेल्वासेले बताइन् ।  गैडे सामुदायिक वन अहिले अर्घाखाँची नमुना सामुदायिक वनको रुपमा परिचित छ । यस वनले जिल्लामा सरकारले गर्न नसकेका विकासका कामहरु आन्तरिक आम्दानीबाट गरिरहेको छ ।

कपिलवस्तु र अर्घाखाँचीको सीमानामा रहेको सो सामुदायिक वनको आम्दानीबाट त्यहाँका उपभोक्ताहरुले धेरै विकास निर्माणका कामहरु गरेको उपभोक्ता समुहका सचिव सीता बेल्वासेको भनाइ छ । सो सामुदायिक वन अर्घाखाँची र कपिलबस्तुको सीमाना क्षेत्रमा पर्छ भने त्यसको सरक्षण दुवै जिल्लाका उपभोक्ताहरुले गर्ने गर्छन् । सचिव सीता बेल्वासेका अनुसार सामुदायिक वनको आम्दानीबाट बाटो खन्ने सिँचाइका योजनाहरु सम्पन्न गर्ने, विजुली बाल्ने, विद्यालय भवनलाई सहयोग बाढी पीडितलाई सहयोग समेत गर्ने गरिएको छ । 

सामुदायिक वनको आम्दानीबाट स्थानीय सरकारले गर्न नसकेका कामहरु समेत उपभोक्ताहरुले आफै निर्माण गर्ने काम गरेको डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले  बताए ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत उमेश शाह  भन्छन्,‘यति धेरै विकासका काम भएका छन् कि धेरै नमुना काम भएका छन् । वन कार्यालयले त्यसको अनुगमन निगरानी गर्ने गरेको छ पुरस्कृत गर्ने गरी सामुदायिक वनले काम गरेका छन् ।’