डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जिल्लाका उम्मेदवार तथा राजनीतिक दलहरूलाई विशेष अनुरोध गरेको छ।
अर्घाखाँचीमा प्रत्येक वर्ष वन डढेलोका घटना दोहोरिँदै आएका छन्। डढेलोका कारण वनजंगलमा ठूलो क्षति हुनुका साथै हजारौँ हेक्टर वन क्षेत्र नष्ट हुँदै आएको र यसले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको उल्लेख गरिएको छ।
कार्यालयले सार्वजनिक सूचनामार्फत डढेलो लाग्ने मुख्य कारणमध्ये मानव गतिविधि प्रमुख रहेको जनाएको छ। विशेषगरी वन्यजन्तु धपाउने, नयाँ घाँस पलाउने उद्देश्यले आगो लगाउने तथा वन पैदावार संकलनका क्रममा लापरबाही हुने जस्ता कारणले डढेलो बढ्दै गएको बताइएको छ।
यस वर्षको वन डढेलोका घटना शुरु भइसकेको अवस्थालाई मध्यनजर गर्दै कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी उम्मेदवार तथा राजनीतिक दलहरूलाई आफ्ना चुनावी कार्यक्रम, सभा तथा घरदैलो अभियानका क्रममा वनमा आगो नलगाउन जनस्तरमा सचेत फैलाउन आग्रह गरेको हो।
वन डढेलो लगाउने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै कार्यालयले यस्तो गतिविधिमा संलग्न नहुन तथा गराउन सबै पक्षलाई सचेत गराएको छ। साथै, जनतालाई वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न र सर्वसाधारणको जीवन तथा सम्पत्तिको सुरक्षामा सहयोग गर्न अपिल गरिएको छ।
वन संरक्षण तथा वातावरणीय सन्तुलन जोगाउनु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सबै उम्मेवदार र राजनितिक दलले निर्बाचन कार्यक्रम र घरदैलोमा वन डढेलोको सचेतना फैलाउन अनुरोध गरिएको हो ।