अर्घाखाँची । जिल्लामा मनसुन सक्रिय रहेसँगै लगातार वर्षा भइरहेको समयमा डिभिजन वन कार्यालय, अर्घाखाँचीले नर्सरीमा मौज्दात रहेका बहुवर्षे बिरुवा कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराउने तयारी गरेको छ। विशेषगरी तेजपात र टिमुरका बहुवर्षे बिरुवा रोपणका लागि उपयुक्त समय भएकाले खाली तथा रोपणयोग्य क्षेत्रमा बिरुवा लगाउन कार्यालयले कृषकहरूलाई आग्रह गरेको हो।
जिल्लामा लामो समयदेखि वर्षा भइरहेकाले माटोमा पर्याप्त चिस्यान कायम रहेको र मनसुन अझ केही समय सक्रिय रहने अवस्था रहेकाले बिरुवा रोपणका लागि अहिले उपयुक्त समय रहेको कार्यालयले जनाएको छ। यही अवसरलाई सदुपयोग गर्दै नर्सरीमा मौज्दात रहेका बिरुवा खेर जान नदिन तथा कृषकको आवश्यकता र मागअनुसार सहज रूपमा उपलब्ध गराउन कार्यालयले विशेष व्यवस्था मिलाएको हो।
डिभिजन वन कार्यालयका सिनियर डिभिजनल वन अधिकृत शंङ्कर प्रसाद गुप्ताका अनुसार कार्यालयअन्तर्गतका विभिन्न नर्सरीमा बहुवर्षे बिरुवा मौज्दात रहेका छन्। नर्सरीमा तयार भएका बिरुवालाई लामो समयसम्म राखि राख्दा व्यवस्थापनमा समस्या हुने भएकाले रोपणयोग्य क्षेत्र भएका कृषक, सामुदायिक वन उपभोक्ता समूह तथा अन्य सरोकारवालालाई बिरुवा उपलब्ध गराउन लागिएको हो।
विशेषगरी तेजपात र टिमुर जस्ता बहुवर्षे तथा बहुउपयोगी प्रजातिका बिरुवालाई प्राथमिकताका साथ कृषकको खेतबारी, निजी जग्गा, खाली जमिन तथा उपयुक्त अन्य क्षेत्रहरूमा रोपण गर्न प्रोत्साहन गरिएको छ। यी प्रजातिले वातावरणीय संरक्षणसँगै भविष्यमा कृषकको आयआर्जनमा समेत योगदान पुर्याउन सक्ने भएकाले यसको विस्तारलाई कार्यालयले महत्व दिएको जनाएको छ।
टाढाका कृषकका लागि ढुवानीको व्यवस्था
बिरुवा लिनका लागि टाढाबाट नर्सरीसम्म आउनुपर्ने कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले बिरुवा ढुवानी गरी कृषक तथा समूहको पहुँच नजिकै पुर्याउने व्यवस्था समेत मिलाएको छ।
सिनियर डिभिजनल वन अधिकृतका अनुसार नर्सरी तथा वितरण केन्द्रबाट टाढा रहेका कृषक र समूहहरूले पनि सहज रूपमा बिरुवा प्राप्त गर्न सकून् भनेर कार्यालयकै समन्वयमा आवश्यक स्थानसम्म बिरुवा पुर्याउने व्यवस्था गरिएको हो। यसबाट बिरुवा लिनकै लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता कम हुने र धेरैभन्दा धेरै कृषकलाई रोपण अभियानमा सहभागी गराउन सहयोग पुग्ने कार्यालयको अपेक्षा छ।
बिरुवा वितरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन स्थानमा छुट्टाछुट्टै कर्मचारी टोली परिचालन गरिएको छ। कार्यालयका अनुसार प्रत्येक स्थानमा चार/चार जना कर्मचारी खटाइएको छ। कर्मचारी टोलीले बिरुवा व्यवस्थापन, कृषक तथा समूहसँग समन्वय, आवश्यक प्राविधिक जानकारी तथा वितरण कार्यमा सहजीकरण गर्नेछ।
बस्ती नजिकै पुग्नेछ बिरुवा
कार्यालयले नर्सरीमा मौज्दात रहेका बिरुवा अब कृषकको बस्ती नजिकै उपलब्ध गराउने गरी तयारी गरेको छ। यसका लागि सम्बन्धित क्षेत्रका कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई आफूलाई पायक पर्ने स्थानबाट बिरुवा लिन कार्यालयले अनुरोध गरेको छ।
कार्यालयले खाली तथा रोपणयोग्य क्षेत्र पहिचान गरी बिरुवा रोप्न कृषकलाई आग्रह गरेको छ। विशेषगरी घरआँगन, खेतबारीको डिल, खाली निजी जग्गा, सामुदायिक वनका उपयुक्त क्षेत्र तथा अन्य खाली जमिनमा स्थानीय वातावरणअनुकूल बहुवर्षे प्रजातिका बिरुवा लगाउन सकिने कार्यालयले जनाएको छ।
रोपणपछि संरक्षणमा जोड
वन कार्यालयले बिरुवा वितरण मात्र नभई रोपणपछि त्यसको संरक्षण र हुर्काउने कार्यलाई पनि उत्तिकै महत्व दिन कृषक तथा समूहलाई आग्रह गरेको छ। बिरुवा रोपिसकेपछि नियमित हेरचाह, आवश्यकताअनुसार गोडमेल, पशुचौपायाबाट संरक्षण तथा प्रारम्भिक अवस्थामा पानीको व्यवस्थापन गर्न सके बिरुवाको बाँच्ने दर बढाउन सकिने कार्यालयको भनाइ छ।
विशेषगरी बहुवर्षे बिरुवा रोपणमा तत्कालको परिणामभन्दा दीर्घकालीन लाभलाई ध्यान दिनुपर्ने भएकाले कृषकले आफूले संरक्षण गर्न सक्ने स्थानमा मात्र बिरुवा रोप्न कार्यालयले अनुरोध गरेको छ।
सम्बन्धित क्षेत्रका कृषकलाई सम्पर्क गर्न आग्रह
बिरुवा प्राप्त गर्न तथा वितरणसम्बन्धी थप जानकारी लिन सम्बन्धित क्षेत्रका कृषक तथा सामुदायिक वन उपभोक्ता समूहले कार्यालयले तोकेका सम्पर्क व्यक्तिसँग समन्वय गर्न सक्नेछन्।
पाणिनि क्षेत्रका लागि: ९८५७०६६०२१
मथुरा क्षेत्रका लागि: ९८४७११८११०
खन क्षेत्रका लागि: ९८६२०५६६३६
भूमिकास्थान क्षेत्रका लागि: ९८४५५३४४५८
कार्यालयले मनसुनको अनुकूल समयलाई सदुपयोग गर्दै उपलब्ध बहुवर्षे बिरुवा रोपण गरी जिल्लाको हरियाली विस्तार, वन तथा वातावरण संरक्षण र कृषकको आयआर्जनमा योगदान पुर्याउन सबै कृषक तथा सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
डिभिजन वन कार्यालय, अर्घाखाँचीले नर्सरीमा तयार भएका बिरुवा कृषकको खेतबारी र खाली जमिनसम्म पुर्याउने पहलले एकातर्फ नर्सरीमा मौज्दात बिरुवाको सदुपयोग हुने र अर्कोतर्फ जिल्लामा बहुवर्षे तथा बहुउपयोगी प्रजातिको विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।