डिभिजन वन कार्यालय, अर्घाखाँचीले वन सम्बर्द्धन प्रणालीमा आधारित जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय, आन्तरिक नियन्त्रण प्रणाली, अभिलेख व्यवस्थापन तथा वन ऐनबमोजिमको वित्तीय अनुशासनको अवस्था परीक्षण गर्न नेपाल अडिटर्स एशोसियनका प्रतिनिधिसहित ३ सदस्यीय अडिट तथा जाँचबुझ टोली गठन गरिएको छ।
कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार वन अधिकृत केशर खड्का सहित विषयविज्ञ सहभागी रहेको उक्त टोलीले वन समूहहरूको बैंक कारोबार, आय–व्यय विवरण, सम्पत्ति व्यवस्थापन, अभिलेख प्रणाली तथा आन्तरिक नियन्त्रणको प्रभावकारिताको विस्तृत परीक्षण गर्नेछ। यस अभियानबाट सामुदायिक वन समूहहरूमा वित्तीय पारदर्शिता, सुशासन र जवाफदेहितालाई थप सुदृढ बनाउने उद्देश्य कार्यालयले राखेको छ।
अडिट टोलीले आर्थिक वर्ष २०८२/०८३ का बैंक स्टेटमेन्ट, सम्पूर्ण खर्चका सक्कल बिल, भरपाई तथा भुक्तानी सम्बन्धी कागजात, निर्णय पुस्तिका, स्वीकृत वार्षिक कार्यक्रम, भुक्तानी हुन बाँकी कार्यक्रमहरूको विवरण, दर्ता–चलानी, निर्णय रजिस्टर लगायतका सम्पूर्ण अभिलेखको परीक्षण गर्नेछ।
डिभिजन वन कार्यालयले जाँचबुझ कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै सामुदायिक वन उपभोक्ता समूह तथा सब-डिभिजन वन कार्यालयहरूलाई आवश्यक कागजात तयारी अवस्थामा राखी आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ।
वन सम्बर्द्धन प्रणाली अन्तर्गत सञ्चालित सामुदायिक वनहरूको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा सार्वजनिक स्रोतको सदुपयोग सुनिश्चित गर्ने उद्देश्यले नेपाल अडिटर्स एशोसियनको प्राविधिक सहभागिता सहित यो अडिट कार्यक्रम सञ्चालन गर्न लागिएको हो। अडिटबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा आगामी दिनमा सामुदायिक वनहरूको वित्तीय व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाइने अपेक्षा गरिएको छ। कार्यालयबाट ४५ समूहहरुको परिक्षण गरि प्रतिबेदन सम्बन्धित समूहहरुमा दिइने र कार्यालयमा website मा राखिने छ ।