लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय (वन निर्देशनालय)

डिभिजन वन कार्यालय,अर्घाखाँची

सन्धिखर्क,नेपाल

|

अर्घाखाँची,— डिभिजन वन कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्म जिल्लामा भएका वन डढेलोका घटना, तिनबाट भएको क्षति तथा नियन्त्रणका लागि गरिएका प्रयासहरू समेटिएको विस्तृत प्रगति विवरण सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार चालु वर्षको चैतसम्म जिल्लामा कुल १४ वटा वन डढेलोका घटना दर्ता भएका छन्। भुमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका तथा सन्धिखर्क नगरपालिका क्षेत्रमा डढेलोका घटना बढी देखिएका छन्।

वन डढेलोका कारण हालसम्म करिब १३६ हेक्टर वन क्षेत्र प्रभावित भएको छ। यद्यपि मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको कार्यालयले जनाएको छ। डढेलोका कारण वन्यजन्तु, जैविक विविधता तथा वातावरणीय सन्तुलनमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

कार्यालयका अनुसार यस वर्ष डढेलोको संख्या गत वर्षको तुलनामा धेरै नबढे पनि घटनाहरूको स्वरूप भने ठूलो र जोखिमपूर्ण देखिएको छ।

वन डढेलोका प्रमुख कारणहरूमा मानवीय लापरवाही नै मुख्य रहेको कार्यालयको निष्कर्ष छ। चुरोट तथा बिडीको ठुटो जथाभावी फाल्ने, वन्यजन्तु धपाउन आगो लगाउने, घाँस पलाउने उद्देश्यले आगो लगाउने तथा खेतीपातीका लागि प्रयोग गरिएको आगो नियन्त्रण बाहिर जानुजस्ता गतिविधि मुख्य कारणका रूपमा देखिएका छन्।

वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न रणनीतिक तथा प्राविधिक उपायहरू अवलम्बन गरेको जनाएको छ। जिल्ला वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ भने स्थानीय तह र सुरक्षा निकायसँग निरन्तर समन्वय गरिएको छ।

यसैगरी, वन डढेलो नियन्त्रणका लागि मिनी दमकलको व्यवस्था गरिएको छ, जसले दुर्गम क्षेत्रमा समेत छिटो प्रतिक्रिया दिन सहयोग पुगेको कार्यालयले जनाएको छ। ड्रोन प्रविधिको प्रयोग गरी वन क्षेत्रको निगरानी, अनुगमन तथा क्षतिको विश्लेषणसमेत गरिँदै आएको छ।

जनचेतना अभिवृद्धिका लागि विभिन्न सञ्चार माध्यममार्फत सन्देश प्रसारण गरिएको छ भने सामुदायिक वन उपभोक्ता समितिहरूलाई वन हेरालु परिचालन गर्न निर्देशन दिइएको छ। हालसम्म ७६ जना वन हेरालु परिचालनमा रहेका छन्। साथै १२ सदस्यीय वन डढेलो नियन्त्रण दस्ता गठन गरी आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ।

कार्यालयले वन डढेलो नियन्त्रणमा स्रोतसाधनको अभाव, दुर्गम भौगोलिक अवस्था, जनचेतनाको कमी तथा कानुनी कार्यान्वयनमा कमजोरीलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ।

आगामी वैशाख र जेठ महिनामा वन डढेलो नियन्त्रणलाई अझ प्रभावकारी बनाउन विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन, उपकरण तथा जनशक्ति व्यवस्थापन, कानुनी कारबाही कडाइ तथा सुरक्षा निकायसँग थप समन्वय गर्ने योजना अघि सारिएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो न्यूनीकरणका लागि सबै सरोकारवालाहरूको समन्वित प्रयास आवश्यक रहेको औंल्याउँदै जनसहभागिता र सचेतनामा विशेष जोड दिएको छ।कार्यालयले २०८३ बैशख र जेठमा गरिने कार्य तथा रणनितिहरु समेत सार्बजानिक गरेको छ ।कार्यालयले वन डढेलो फोकल ब्यक्ति र ड्रोन ब्यबस्थापन टिमका रुपमा वन अधिकृत केशर खड्कालाइ तोकि नियमित र योजनबद्धरुपमा कार्य गरिरहेको छ।